ढाका । बंगलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन् ।
नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले भने, “आजदेखि अन्तरिम सरकारको कार्यभार अन्त्य भएको छ । अब आउने निर्वाचित सरकारले लोकतन्त्रको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता र सुरु भएको मौलिक अधिकारलाई रोक्ने छैन ।”
विद्यार्थीको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको सरकार अपदस्थ गरेको र उनी हेलिकोप्टरबाट भागेको केही दिनपछि युनुस सन् २०२४ अगस्टमा स्वघोषित निर्वासनबाट फर्किएका थिए ।
उनले पूर्वप्रधानमन्त्री हसिना अपदस्थ भएको दिनको स्मरण गर्दै भने, “त्यो ठूलो मुक्तिको दिन थियो । त्यो कस्तो आनन्दको दिन थियो भने यसका कारण विश्वभरका बंगलादेशीहरू खुसी बनेका छन् । हाम्रो देशका युवाहरूले देशलाई दृष्ट शासकको पकडबाट मुक्त गरे ।”
त्यसयता बंगलादेशको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्दै आएका उनले गत साता भएको निर्वाचनमा ‘ठूलो विजय’ हासिल गरेकामा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका नेता तारिक रहमानलाई बधाई दिए । रहमानले अबको सरकारको नेतृत्व गर्नेछन् ।
“निर्वाचनसँग जोडिएका जनता, मतदाता, राजनीतिक दल र सरोकारवाला संस्थाले प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन्,“ युनुसले राष्ट्रबासीका नाममा गरेको सम्बोधनमा भने ।
उनले भने, “यो निर्वाचनले भविष्यको चुनावका लागि मार्ग तय गरेको छ । बीएनपीका प्रमुख तथा देशको सबैभन्दा शक्तिशाली राजनीतिक वंशका वंशज रहेका ६० वर्षीय रहमानले १७ करोड जनसंख्या भएको दक्षिण एसियाली देश बंगलादेशको नेतृत्व गर्नुहुनेछ ।”


प्रतिक्रिया