रफाह । हमासले इजरायली सरकारका एक अधिकारीको ६० दिने अल्टिमेटम अस्वीकार गरेको छ । नेतन्याहुका एक जना सहयोगीले सो समूहलाई ६० दिन भित्रमा हतियार त्याग्न चेतावनी दिएको थियो ।
इजरायली मन्त्रिपरिषद्का सचिव योसी फुक्सले चेतावनी उल्लङ्घन भए इजरायलको जनसंहार युद्ध फेरि सुरु गरिने चेतावनी दिएका थिए । तर हमासका वरिष्ठ नेता महमूद मर्दावीले यसबारे जानकारी नभएको बताएका छन् ।
‘प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र मिडियामार्फत गरिएका बयानहरू केवल धम्की हुन् र हाल चलिरहेका वार्तासँग यसको कुनै सम्बन्ध छैन ।’ मर्दावीले अल जाजिरा मुबाशरसँगको अन्तर्वार्तामा भनेका थिए ।
यसअघि सोमबार जेरुसलममा आयोजित सम्मेलनमा नेतन्याहूका सहायक फुक्सले हमासले ६० दिनभित्र शस्त्र त्याग गरेन भने गाजामा युद्ध फेरि सुरु गर्ने भनेका थिए ।
अमेरिकी प्रशासनले यो समयावधि माग गरेको र इजरायलले त्यसको सम्मान गर्दै आएको पनि फुक्सले बताएका थिए ।
अल्टिमेटम कहिले सुरु हुनेछ भन्ने निश्चित नभएको तर फेब्रुअरी १९ मा हुने भनिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘बोर्ड अफ पिस’ को बैठकसँगै सुरु हुनसक्ने उनको भनाइ थियो ।
बैठकमा गाजाको पुनर्निर्माण योजना र हतियार नियन्त्रणको विषयमा छलफल हुने बताइएको छ ।
युद्धको धम्कीले क्षेत्रीय रूपमा गम्भीर परिणाम निम्त्याउने चेतावनी मर्दावीले दिएका छन् । आफूहरूले प्यालेस्टिनी जनताको हार स्वीकार नगर्ने पनि उनले बताए ।
जनवरी मध्यदेखि सुरु भएको युद्धविराम सम्झौतामा अमेरिकाले हमासको निःशस्त्रीकरण र अन्तर्राष्ट्रिय शान्ति सेनाको तैनाथी सुनिश्चित गर्ने योजना बनाएको छ ।
तर इजरायलले गाजामा कब्जा जमाउँदा सम्म आफूले हतियार नत्याग्ने हमासले स्पष्ट पारेको छ ।


प्रतिक्रिया