काठमाडौं । चीनले अब सूर्यको किरण परावर्तित गर्ने मरुभूमिलाई ऊर्जा सङ्कलन गर्ने विशाल सौर्य फार्ममा परिणत गरेको छ ।
चीनले एल्युमिनियम संरचनाले सूर्यका किरण सोस्दै संसारकै सबैभन्दा ठूला सौर्य परियोजनामध्ये एक निर्माण गरेको बीबीसीले जनाएको छ ।
वैज्ञानिकहरूका अनुसार सौर्य प्यानलहरूले छायाँ र हावाबाट जोगाउने अवरोधको काम गर्छन्, जसले घाँस संरक्षण र जमिन पुनस्र्थापनामा सहयोग पुर्याउँछ ।
चीनको विशाल भूभागमा नवीकरणीय ऊर्जातर्फको तीव्र रूपान्तरण स्पष्ट देखिन्छ । गान्सु र सिङ्जियाङका खुला मैदान र पहाडी क्षेत्रहरू अहिले विशाल हावा र सौर्य ऊर्जा आधारस्थलमा बदलिएका छन् ।
टर्बाइनमुनि झिलिमिली सौर्य प्यानलहरू राखिएका छन्, जसले करोडौँ घरधुरीलाई बिजुली आपूर्ति गर्न सक्ने क्षमता बृद्धि गरेको खबरमा उल्लेख छ ।
विश्वकै सबैभन्दा ठूलो कार्बन उत्सर्जक भए पनि चीनले हरित ऊर्जा पूर्वाधार तीव्र गतिमा विस्तार गरिरहेको छ । सन् २०२० मा राष्ट्रपति सि जिङपिङले राष्ट्रसंघमा २०३० सम्म उत्सर्जन उच्चतम बिन्दुमा पुर्याएर २०६० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्य घोषणा गरेका गर्नुभएको थियो ।
विश्लेषकहरूका अनुसार चीनको कार्बन डाइअक्साइड उत्सर्जन पछिल्ला २१ महिनादेखि स्थिर वा घट्दो अवस्थामा छ ।
यसबीच अमेरिका हरित ऊर्जा प्रतिबद्धतामा पछि हटेको देखिन्छ । हालै अमेरिकी प्रशासनले संघीय स्तरमा उत्सर्जन नियन्त्रणलाई समर्थन गर्ने एक महत्त्वपूर्ण वैज्ञानिक निर्णय उल्ट्याएको छ ।
यसरी चीन अप्रत्याशित रूपमा विश्वको नवीकरणीय ऊर्जा क्रान्तिको नेतृत्वमा पुगेको छ ।
तर यो रूपान्तरणसँगै चुनौतीहरू पनि देखिएका छन् । अत्यधिक उत्पादनका कारण सौर्य प्यानल र प्रमुख अवयवहरूको आपूर्ति बढी भएको छ, जसले मूल्ययुद्ध र बिजुली दरमा गिरावट ल्याएको छ ।
यसले नवीकरणीय आपूर्ति शृंखलामा संलग्न चिनियाँ कम्पनीहरूलाई दबाबमा पारेको छ ।सन् २०१० मा चीन सूर्यबाट जर्मनी, स्पेन, अमेरिका, जापान, इटाली र दक्षिण कोरियाभन्दा कम बिजुली उत्पादन गथ्र्यो । तर राज्य अनुदान र ऋणमार्फत अर्बौँ डलर लगानी गर्दै चीनले विद्युतीय सवारी, ब्याट्री र सौर्य प्यानल उद्योगमा विशेष ध्यान दियो ।
अहिले चीनले विश्वका सबै देश मिलेर बनाउनेभन्दा बढी सौर्य प्यानल उत्पादन गर्छ । आज चिनियाँ सौर्य प्यानल पाकिस्तानदेखि जमैकासम्मका छानामा देखिन्छन्, जसले विश्वको हरित ऊर्जा लक्ष्यमा चीनको अनिवार्य भूमिकालाई देखाउँछ ।
युरोपेली संघले भने चीनमाथि अत्यधिक उत्पादन र अनुचित व्यापार अभ्यासमार्फत प्रतिस्पर्धीलाई हटाएको आरोप लगाउँदै आएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार विश्वभर उत्पादन हुने प्रत्येक सातमध्ये एक सौर्य प्यानल एउटै चिनियाँ कारखानाबाट बन्ने गरेको छ ।


प्रतिक्रिया