मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रीत लगानीमा जोड

मन्त्री श्रेष्ठद्वारा महिला केन्द्रीत लगानीमा जोड



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गरेकी छन् ।

यहाँ आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी, २०८२’ मन्त्री श्रेष्ठले जलवायु परिवर्तनले पर्यटनमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी मार महिलामाथि परेको भन्दै महिला केन्द्रीत लगानीमा जोड दिएकी हुन् ।

गोष्ठीमा ‘जलवायु, समुदाय र महिलाः जलवायु सहनशील तथा समावेशी पर्यटनका लागि वित्त पोषण अपरिहार्य’ विषयक सामूहिक छलफलमा सहभागी हुँदै उनले पर्यटनबाट प्राप्त आम्दानीलाई सामूहिक सहनशीलतासँग जोड्दै संरक्षणकर्तालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

“वित्त पोषण भनेको केवल सडक र भवन निर्माण मात्र होइन, विशेष गरी महिलामा लगानी हुनुपर्छ,” मन्त्री श्रेष्ठले भनिन्, “महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकार्य सुदृढीकरण, पानी तथा नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी र वन पदमार्ग, पानी स्रोत तथा सांस्कृतिक सम्पदा संरक्षणमा महिलाले गरेको योगदानको मान्यता आवश्यक छ ।”

मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरोका कारण ट्रेकिङ पदमार्ग अवरुद्ध हुनु, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधता क्षय र सम्पदामा क्षति जस्ता घटनाले पर्यटनलाई बढ्दो रूपमा प्रभावित गरिरहेकोबारे चिन्ता व्यक्त गरिन् ।