टी–२० विश्वकप : पाकिस्तान र न्युजिल्यान्डबीचकाे खेल वर्षाका कारण रद्द

टी–२० विश्वकप : पाकिस्तान र न्युजिल्यान्डबीचकाे खेल वर्षाका कारण रद्द



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

गएराति श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण खेल हुन सकेन । योसँगै पाकिस्तान र न्युजिल्यान्ड दुवैले १–१ अङ्क बाँडेका छन् ।

प्रतियोगितामा वर्षाका कारण दोस्रो पटक खेल रद्द भएको हो । यसअघि समूह चरणमा जिम्बावे र आयरल्यान्डबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।

पाकिस्तान समूह ‘ए’ बाट र न्युजिल्यान्ड समूह ‘डी’ बाट उपविजेता बन्दै ‘सुपर–एट’ मा पुगेका हुन् । यस्तै आयोजक भारत र श्रीलङ्कासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड पनि ‘सुपर–एट’ मा पुगेका हुन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहेका छन् ।

‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।