चितवन । चितवनको भरतपुर मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका गाडी सञ्चालन, मालवाहकको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी विभिन्न निर्णय गरेको हो ।
निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाण्डौ तथा पोखरा जाने बस, मिनीबस, माइक्रोबस लगायतले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जानेले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ ।
पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाण्डौतर्फ लाग्ने गाडीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाण्डौबाट पूर्व वा पश्चिम जानेले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ ।
चितवनबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका गाडीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि रोक्न नपाइने निर्णय भएको छ । केन्द्रीय बसपार्क र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ त्यही बसपार्कमा गर्नुपर्नेछ ।
भरतपुर महानगर क्षेत्रको चक्रपथमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका ठाउँमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।
नारायणगढबाट कावासोती, डन्डा, हेटौँडा र वीरगञ्ज जाने बस तथा मिनीबसको क्यु लिने ठाउँ केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका ठाउँ बाहेक अन्यत्र ‘पिक एन्ड ड्रप’ तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय गाडीको ‘पिक एन्ड ड्रप’ ठाउँ महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ । भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबिसकोठी हुँदै लायन्स चोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित ठाउँबाट छुटेका गाडी तोकिएको अन्तिम ठाउँसम्म अनिवार्य पुग्नुपर्नेछ ।
चितवनभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आ–आफ्नो क्यु छुट्ने पार्कबाट रुट नम्बरका आधारमा सञ्चालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्य रूपमा प्रालिमा दर्ता भई त्यही प्रालिको लोगो लगाएर मात्र सञ्चालन गर्नुपर्नेछ । लोगो नभएका अटो सञ्चालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ । अटोको रुट, सेक्टर विभाजन तथा रङ्ग निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन निषेध गरिनेछ ।
तीन पाङ्ग्रे साना गाडीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ । नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा बिहान ८ देखि बेलुका ८ बजेसम्म ठूला मालवाहक तथा लामो दूरीका गाडीलाई प्रवेश निषेध गरिएको छ । काठमाण्डौ तथा पोखराबाट आउने यस्ता गाडीलाई पनि यही अवधिमा बजार प्रवेशमा रोक लगाई बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । बिहान ९ देखि बेलुका ७ बजेसम्म बजार क्षेत्रमा मालवाहक गाडीले लोडअनलोड गर्न पाउने छैनन् । यी निर्णय आजदेखि कार्यान्वयन गर्न थालिएको छ ।


प्रतिक्रिया