काठमाडौं । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२\८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९.८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांक अनुसार उक्त अवधिमा ८ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो ।
चालु आवको १० महिनाको अवधिमा ४ हजार १५३.१५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१\८२ को सोही अवधिमा ५ अर्ब ३८ करोड ८० लाख २० हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताए ।
कार्यालयको तथ्यांक अनुसार चालु आवको १० महिनामा चियाको निर्यात २६.७० प्रतिशतले घटेको छ । उक्त अवधिमा २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । आव २०८१ ८२ को सोही अवधिमा ३ अर्ब १६ करोड ६२ लाख १३ हजार रुपैयाँको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए ।
कार्यालयको तथ्यांक अनुसार निर्यात हुने मुख्य वस्तुमा भेनियर सिट ९१.१० प्रतिशत, छुर्पी ६३.३० प्रतिशत, अदुवा, सुठो १०१.८० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६.१० र मुसुरो दाल ३१६.२० प्रतिशत, जडीबुटी ९२.९ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी प्लाउड ४० दशमलव ९० प्रतिशत, अम्रिसो २४.९० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२\८३ को माघ मसान्त सम्ममा रु १६ अर्ब ३ करोड १५ लाख ८३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ ।


प्रतिक्रिया