काठमाडौं । रौतहटको सदरमुकाम गौर क्षेत्रमा दुई समुदायबीच देखिएको द्वन्द्व समाधानका लागि भोलि बिहान साढे ७ बजे सद्भाव र्याली निकाल्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सदभाव र्याली निकाल्ने निर्णय गरेको हो ।
प्रजिअ भुसालका अनुसार धार्मिक–सामाजिक–सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिन भोलि बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सबगढामा सदभाव र्याली निकालिने छ । यस्तै सबै पक्षले शान्तिका लागि सार्वजनिक अपिल जारी गर्ने पनि निर्णय भएको छ ।
सर्वपक्षीय बैठकले शान्तिको आव्हानसहित र्याली निकाल्ने निर्णय गरे पनि रौतहटको सदरमुकाम गौर नगर क्षेत्रमा हिजोदेखि लागुभएको कर्फ्यू भने जारी छ । स्थिति अझै संवेदनशील रहेको सुरक्षा विश्लेषणका कारण तत्काल कर्फ्यू हटाउन नसकिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।
सवडढा गाउँमा विवाहमा बजाएको डिजेलाई लिएर बिहिवार राति पौने १० बजेतिर दुई समुदायबीच विवाद शुरु भएकोमा शुक्रवार ६ बुँदे सहमति भएको थियो । तर सहमति विपरीत हिजो पुनः अवस्था तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले चार किल्ला निर्धारण गर्दै कफ्र्यू आदेश जारी गरेको छ ।


प्रतिक्रिया