मिथिला मध्यमा परिक्रमाको डोला कञ्चनवन पुग्याे, होली महोत्सव शुरू

मिथिला मध्यमा परिक्रमाको डोला कञ्चनवन पुग्याे, होली महोत्सव शुरू



काठमाडाैं । मिथिला मध्यमा परिक्रमाको डोला महोत्तरीको कञ्चनवनमा पुगेको छ । फागुन शुक्ल प्रतिपदादेखि शुरू भएको ऐतिहासिक १५ दिने धार्मिक पदयात्रा सप्तमी तिथिमा कञ्चनवन पुगेपछि परम्परागत रूपमा होली महोत्सव शुरू भएको छ ।

जनविश्वासअनुसार त्रेतायुगमा राम र सीताले यो कञ्चनवनमै अबीर दलेर होली खेलेका थिए । त्यही विश्वासमा डोला त्यहाँ पुगेपछि परिक्रमा सहभागीहरूले एकअर्कालाई रङ्ग, अबीर लगाएर होली खेल्ने परम्परा छ ।

संस्कृतिविद्हरूकाअनुसार कञ्चनवनको यो होली मिथिलाञ्चलको सबैभन्दा पुरानो र विशेष होली उत्सव मानिन्छ ।

परिक्रमा यात्रा धनुषाको हनुमानगढीबाट शुरू भएर भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड पुगेपछि कञ्चनवन आइपुगेको हो । कञ्चनवनमा होली खेलेपछि यात्रा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः जनकपुरधाम फर्केर फागुन पूर्णिमामा समापन हुन्छ ।