बालेनको अभिव्यक्तिमा निर्माण व्यवसायी महासंघको आपत्ति

बालेनको अभिव्यक्तिमा निर्माण व्यवसायी महासंघको आपत्ति



काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहद्वारा व्यक्त ‘रुखमा बाँधेर भए पनि बाटो बनाउनुपर्छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

महासङ्घले उक्त अभिव्यक्ति अमर्यादित, उत्तेजक र निर्माण व्यवसायीहरूको मनोबल गिराउने खालको रहेको भन्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको हो ।

फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नु पर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

महासङ्घले उक्त धारणा निर्वाचन आचारसंहिता विपरीत र सस्तो लोकप्रियताका लागि दिइएको आरोप लगाएको छ ।

महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा देशभरका करिब ३० हजारभन्दा बढी निर्माण व्यवसायीको प्रतिनिधित्व गर्ने सङ्गठनमाथि यस प्रकारको सार्वजनिक अभिव्यक्ति आउनु दुःखद रहेको उल्लेख गरिएको छ ।