प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना



काठमाडौं । डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ । सामाजिक सञ्जालमा पोस्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।

नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरे । त्यस अवसरमा उनले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी चुनावसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गरे ।

मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

डिजिटल युगमा छिटो सूचना प्रवाह गर्ने प्रतिस्पर्धाका कारण समाजमा नकारात्मक असर परिरहेकोतर्फ ध्यान दिँदै प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’ र ‘हेट स्पिच’ जस्ता समस्या, एआईको दुरुपयोग र डिजिटल ‘म्यानिपुलेसन’बाट सिर्जित झुटा सामग्रीहरू सबैको साझा चिन्ताको विषय बनेको जनाएको छ ।