लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु, १५४ घाइते

लेबनानमा इजरायली आक्रमणमा ५२ जनाको मृत्यु, १५४ घाइते



काठमाडौं । इजरायली आक्रमणमा लेबनानमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । १५४ जना घाइते भएको लेबनानी सरकारले जनाएको छ ।

सरकारको विपद् तथा व्यवस्थापन एकाइका अनुसार, दक्षिण र पूर्वी लेबनानका साथै बेरुतका दक्षिणी उपनगरहरूमा भएको बमबारीका कारण २८ हजार ५०० भन्दा बढी मानिस विस्थापित भएका छन् ।

इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरका बासिन्दाहरूलाई अनिवार्य रूपमा ठाउँ खाली गर्न चेतावनी जारी गरेको छ ।

विशेष गरी इजरायलका अरबी भाषाका प्रवक्ताद्वारा साझा गरिएको नक्सामा पहिचान गरिएको एउटा भवन र त्यस वरपरका क्षेत्रलाई लक्षित गर्दै यो चेतावनी दिइएको हो ।

प्रवक्ता अविचाई अद्राईले हारेत ह्रेइक टोलमा रहेको उक्त भवन र आसपासका संरचनाहरू हिजबुल्लाहका सुविधाहरूनजिकै अवस्थित रहेको दाबी गरेका छन्, जसलाई इजरायली सेनाले निशाना बनाउन लागेको छ ।

उनले त्यहाँका बासिन्दाहरूलाई तुरुन्तै उक्त स्थान छोड्न र कम्तीमा ३०० मिटर टाढा जान धम्कीपूर्ण चेतावनी दिएका छन् ।