प्रतिनिधिसभा निर्वाचन: सुरु भयाे मौन अवधि

प्रतिनिधिसभा निर्वाचन: सुरु भयाे मौन अवधि



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थिर समय (मौन अवधि) लागू गरेको हो ।

मौन अवधि सुरु भएसँगै अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा उनीहरूका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन् ।

यस अवधिमा चुनावी सभा, जुलुस, घरदैलो, सामाजिक सञ्जालका माध्यमहरूमार्फत गरिने डिजिटल प्रचारप्रसारमा समेत पूर्ण प्रतिबन्ध लगाइएको छ ।

निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टरहरू समेत हटाउनुपर्ने कानुनी व्यवस्था छ ।

शान्त र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि यो व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यस समयमा उम्मेदवारहरूले मतदातालाई आर्थिक प्रलोभन वा अन्य माध्यमबाट प्रभावित पार्ने जोखिम रहने भएकाले पनि आयोगले यसलाई कडाइका साथ लागू गर्ने अभ्यास गर्दै आएको छ ।

निर्वाचन आयोगका अनुसार आयोगले २४ सै घण्टा आचारसंहिता उल्लंघनको सूक्ष्म अनुगमन गरिरहेको छ ।