काठमाडौं । अमेरिका/इजरायल–इरान युद्धको चौथो दिनसम्ममा ७८७ जना इरानी नागरिक मारिएका छन् । यस युद्धमा छ अमेरिकी सेनाको पनि ज्यान गएको छ ।
युद्ध लम्बिँदै जाँदा अमेरिका र इजरायलले आक्रमण थप तीव्र पारेका छन् । इरानका सामरिक महत्वका विभिन्न स्थलमा हवाई आक्रमण जारी राखिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारी मारिएपछि आक्रोशित इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका खाडी क्षेत्रका देशमा प्रत्याक्रमण जारी राखेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित नगरेसम्म युद्ध नरोकिने बताएका छन् ।
अमेरिकाले इरानविरुद्धको कारबाहीलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । राष्ट्रपति ट्रम्पले आदेश दिएपछि अमेरिकी सेनाले इरानमाथि व्यापक आक्रमणका क्रममा इरानी कमान्ड र कन्ट्रोल स्थल ध्वस्त पारेको छ । मिसाइल पूर्वाधार नष्ट गरेको छ । नौसेना जहाजलाई डुबाइदिएको छ । अमेरिकी शीर्ष सैन्य अधिकारी जनरल डन केनले पत्रकार सम्मेलनमा भने, “आवश्यक कारबाही गर्नुपर्ने भएमा विश्वसनीय विकल्प उपलब्ध गराउन सकियोस् भनी अमेरिकाले मध्यपूर्वमा हप्तौँदेखि सैन्य बलको निर्माण गरिरहेको थियो ।”
उनले भने, “यी गतिविधिले अमेरिकी सेना कुनै पनि उदीयमान खतराको सामना गर्न तयार र सुरक्षित रहेको सुनिश्चित गरेको थियो । यस तैनाथीमा सबै शाखाका हजारौँ सेवा सदस्य, सयौँ चौथो र पाँचौँ पुस्ताका लडाकु, दर्जनौँ इन्धन भर्ने ट्याङ्कर, लिङ्कन र फोर्ड क्यारियर स्ट्राइक समूह र उनीहरूको हवाई शाखा, युद्ध सामग्रीको निरन्तर प्रवाह, इन्धन आपूर्ति समावेश थियो ।”


प्रतिक्रिया