भक्तपुर-१ मा नेमकिपाको ‘लालकिल्ला’ ढल्यो

भक्तपुर-१ मा नेमकिपाको ‘लालकिल्ला’ ढल्यो


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला मानिँदै आएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा ठूलो राजनीतिक फेरबदल भएको छ । स्थापनाकालदेखि नै बर्चस्व कायम राख्न सफल नेमकिपालाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित निकालेको छ । यो हारसँगै वि.सं. २०४८ सालयता पहिलोपटक नेमकिपाले आफ्नो विरासत गुमाएको छ ।

अन्तिम मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार राकेश रञ्जितले नेमकिपाका प्रभावशाली नेता प्रेम सुवाललाई पराजित गरे । रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुवालले २८ हजार १४७ मत प्राप्त गरे । नेमकिपाका लागि यो नतिजा अनपेक्षित मानिएको छ, किनकि सुवाल यसअघि भारी मतान्तरले विजयी हुँदै आएका थिए ।

प्रतिस्पर्धामा नेपाली कांग्रेसका किरण न्यौपाने तेस्रो स्थानमा रहे । उनले ४ हजार २८२ मत मात्र प्राप्त गरे । नेमकिपाको गढ मानिने यस क्षेत्रमा नयाँ शक्तिको उदयले भक्तपुरको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।

वि.सं. २०४८ को आम निर्वाचनदेखि नै यो क्षेत्रमा नेमकिपाले निरन्तर जित हासिल गर्दै आएको थियो । तर, यसपटकको निर्वाचन नतिजाले नेमकिपालाई संघीय संसदमा प्रतिनिधित्वविहीन बनाएको छ ।