काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मिश्रले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र आगामी दिनमा (गैरदलीय) रूपमा सक्रिय रहने जानकारी दिएका हुन् ।
विगत ९ वर्षदेखि सक्रिय राजनीतिमा रहेका मिश्रले आफ्नो राजीनामा कुनै निराशा वा हतारको निर्णय नभई पर्याप्त सोच-विचारपछि चालिएको कदम भएको बताएका छन् । देशभर राजसंस्थाको पक्षमा बलियो जनमत हुँदाहुँदै पनि राप्रपाले त्यसलाई सङ्गठित र पूँजीकृत गर्न नसकेको उनको निष्कर्ष छ । यस विफलतामा पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले आफू पनि जिम्मेवार रहेको स्वीकार गरेका छन् ।
मिश्रले विज्ञप्तिमा भनेका छन्, ‘विचारभन्दा माथि देश र देशका लागि नरेश भन्ने मूल मन्त्रका साथ संरचनागत पुनरावलोकनबिना बदलिँदो भूराजनीतिमा देश बचाउन कठिन छ । त्यसैले, राजसंस्था पुनर्स्थापना र सुशासनका मुद्दामा मेरा अडानहरू यथावत राख्दै म अब स्वतन्त्र रूपमा आफ्ना विचारहरू मुखरित गरिरहनेछु ।’
आफ्नो राजनीतिक यात्राका क्रममा इमानदारीपूर्वक प्रयास गरे पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै मिश्रले व्यक्तिगत स्वार्थभन्दा देशको हितलाई सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरे । उनले हालैको निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना समेत दिएका छन् । उनी काठमाडौं-१ मा लगातार तेस्रो पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।


प्रतिक्रिया