काठमाडौँ । यतिबेला सङ्घीय राजधानी काठमाडौँ उपत्यका वातावरणीय प्रदूषणको चपेटामा परेको छ । वायु प्रदूषण मापन गर्ने सूचकाङ्कले मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक अवस्था देखाएको छ ।
काठमाडौँको आकाश पूर्ण रूपमा धुवाँ र धुलोको बाक्लो चादर (तुवाँलो) ले छोपिएको छ । निलो आकाश देखिन छाडेको छ भने सास फेर्ने हावा नै विषालु बन्दै जाँदा उपत्यकावासीको जनजीवन कष्टकर बनेको छ । बागमती नदी किनारदेखि चक्रपथका फराकिला सडकहरूसम्म चारैतिर उराठलाग्दो र फुस्रो दृश्य मात्र देखिन्छ । सहरका अग्ला भवनहरू र धरहरा जस्ता संरचनाहरू धुवाँको तुवाँलोभित्र धमिलो देखिन थालेका छन् ।
उपत्यकाका डाँडाहरूबाट लिइएका तस्बिरहरूले त झनै डरलाग्दो यथार्थ पस्किएका छन् । सम्पूर्ण सहर एउटा कचौराभित्र जम्मा भएको धुवाँको कुहिरोमा डुबेको जस्तो देखिन्छ । हरिया डाँडाहरू र टाढाका बस्तीहरू तुवाँलोले गर्दा आँखाले ठम्याउनै नसकिने अवस्थामा पुगेका छन् । काठमाडौँको ‘कचौरा’ जस्तो भौगोलिक बनावटले गर्दा बाहिरबाट आएको र भित्रै सवारी साधन, कलकारखाना र निर्माण कार्यबाट निस्किएको धुलो–धुवाँ बाहिरिन पाएको छैन ।
भिजिबिलिटी ह्वात्तै घटेको कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । बाटोमा हिँड्ने सर्वसाधारणले आँखा पोल्ने, घाँटी खसखस गर्ने र श्वासप्रश्वासमा भारीपन महसुस भएको गुनासो गरिरहेका छन् । चिकित्सकहरूकाअनुसार यस्तो हावाले विशेषगरी बालबालिका, वृद्धवृद्धा र दम, निमोनिया जस्ता श्वासप्रश्वासका बिरामीहरूलाई गम्भीर असर पुर्याउँछ । यी तस्बिरहरू केवल मौसमको खराबीका दृश्य मात्र होइनन्, यी हाम्रो बिग्रँदो वातावरण र जनस्वास्थ्यमाथिको गम्भीर आपतकालका सङ्केत हुन् ।
सफा हावामा सास फेर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । तर आज काठमाडौँको हावा नै मौन हत्यारा बन्दैछ । विज्ञहरूले यो अवस्थामा ‘मर्निङ वाक’ लगायतका बाहिरी शारीरिक व्यायाम नगर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन अपिल गरेका छन् । सरोकारवाला निकायले अब प्रदूषण नियन्त्रणका लागि तत्काल सङ्कटकालीन कदम चाल्न र दीर्घकालीन रणनीति अपनाउन ढिला भइसकेको छ ।


प्रतिक्रिया