काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्धको युद्ध निकै चाँडै निष्कर्षमा पुग्ने बताएका छन् । विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा उनले अमेरिका आफ्नो लक्ष्यमा तालिकाभन्दा निकै अगाडि रहेको तर ‘अन्तिम विजय’ हासिल गर्न अझै बाँकी रहेको स्पष्ट पारेका छन् ।
रुसी समकक्षी भ्लादिमिर पुटिनसँग टेलिफोन संवाद गरेकै दिन ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो । हालसम्म यस द्वन्द्वमा ८ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेको बताइएको छ । रिपब्लिकन सांसदहरूसँगको कुराकानीमा ट्रम्पले केही ‘अति दुष्ट’ व्यक्तिहरूबाट छुटकारा पाउन अमेरिका छोटो अवधिको सैन्य कारबाहीमा होमिएको बताएका थिए । पत्रकारहरूसँग बोल्दै उनले अब इरानमा ‘एकै दिनका’ कामहरू मात्र बाँकी रहेको दाबीसमेत गरेका छन् ।
सीबीएस, एनबीसी र न्युयोर्क पोस्टलगायतका सञ्चारमाध्यममा ट्रम्पले इरान मामिलाका विभिन्न रणनीतिबारे खुलासा गरेका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’ जल क्षेत्रलाई अवरुद्ध गर्ने धम्की दिएको सन्दर्भमा उनले त्यसो गरिए इरानले ‘मृत्यु, आगो र क्रोध’ को सामना गर्नुपर्ने कडा चेतावनी दिएका छन् । साथै, इरानी तेल कब्जा गर्ने विकल्प पनि खुला रहेको उनले संकेत गरेका छन् ।
इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईप्रति असन्तुष्टि व्यक्त गरे पनि ट्रम्पले उनको विकल्पबारे भने केही खुलाएका छैनन् । इरानले लामो समयसम्म परमाणु हतियार विकास गर्न नसकोस् भन्ने सुनिश्चित गर्नु नै आफ्नो मुख्य र महत्त्वपूर्ण लक्ष्य रहेको ट्रम्पको भनाइ छ । यद्यपि, इरानमा अमेरिकी सेना पठाउने (ग्राउन्ड ट्रुप्स) विषयमा भने आफ्नो प्रशासन अहिल्यै कुनै निर्णयमा नपुगेको उनले प्रस्ट पारे । इरानमाथिको कारबाहीलाई ‘ठूलो सफलता’ को सङ्ज्ञा दिँदै ट्रम्पले थपेका छन्, ‘हामीले पहिले नै धेरै तरिकाले जितिसकेका छौँ, तर अझै पर्याप्त जितेका छैनौँ ।’
ट्रम्पको पछिल्लो भनाइ सार्वजनिक भएसँगै विश्व बजारमा तेलको मूल्यमा उच्च गिरावट आएको छ । सोमवार एकैदिन प्रतिब्यारल ११५ डलरसम्म पुगेको तेलको मूल्य मङ्गलवार एसियाली बजारको प्रारम्भिक कारोबारमा ह्वात्तै घटेको हो । ब्रेन्ट क्रुड साढे आठ प्रतिशतले घटेर प्रतिब्यारल ९२.५० अमेरिकी डलरमा झरेको छ । त्यसैगरी, अमेरिकी तेलको मूल्य पनि करिब ९ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारल ८८.६० डलर कायम भएको छ । यद्यपि, यो मूल्य द्वन्द्व सुरु हुनुअघिको तुलनामा अझै करिब ३० प्रतिशतले बढी हो ।
तेलको मूल्य घटेसँगै एसियाली सेयर बजारमा भने सकारात्मक प्रभाव परेको छ । खाडी राष्ट्रका प्रमुख ग्राहक मानिने एसियाली देशहरूमा तेलको मूल्यवृद्धिले अर्थतन्त्रमा ठूलो धक्का दिएको थियो । तर युद्ध छिट्टै सकिने सङ्केतसँगै जापानको निक्केई २२५ सूचकाङ्क २.८ प्रतिशतले बढेको छ भने दक्षिण कोरियाको कोस्पी एक्सचेन्जमा ५ प्रतिशतभन्दा बढीको उछाल आएको छ । विश्व बजारले अमेरिकी कदम र इरान युद्धको अन्तिम नतिजालाई नजिकबाट नियालिरहेको छ ।


प्रतिक्रिया