बालुवाटार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. हेम राज शर्माले उम्मेदवारी दर्ता गरेका छन्। मार्च १४ देखि १६ सम्म हुने संघको १२ औं महाधिवेशनका लागि डा. शर्माले बुधवार आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। निर्वाचन समितिले बुधवार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको थियो। डा. शर्मा हाल गैरआवासीय नेपाली संघको कार्यसमितिको उपाध्यक्ष पदमा कार्यरत छन्।
एनआरएनएको १२ औं विश्व सम्मेलनलाई लक्षित गर्दै, उनले संघलाई अझ सान्दर्भिक, प्रभावकारी र समावेशी बनाउन समयानुकूल रुपान्तरण गर्ने योजनाका साथ उम्मेदवारी दिएका हुन्। विगत केही वर्षयता केन्द्रीय नेतृत्वबीच अनावश्यक विभाजनको कारण गैरआवासीय नागरिकता कार्यान्वयनसहित एनआरएनसम्बन्धी मुद्दाहरू ओझेलमा परेको उनले बताए। शर्माले संघकै अस्तित्व संकटमा पर्ने अवस्था आउन सक्ने आशंका व्यक्त गरे।
संघभित्रको खिचातानीका कारण पेशागत समुदाय र दोस्रो पुस्ताको सहभागिता लगभग शून्य रहेको उनले उल्लेख गर्दै भने, “आजसम्म पनि संघमा २५ भन्दा कम गैरआवासीय नेपालीलाई मात्रै आवद्ध गराउन सकेका छौं। यसै सन्दर्भमा, हालै भएको बृहत् एकताको सहमतिलाई तार्किक निष्कर्षमा पुर्याउनु संघको दीर्घकालीन स्थायित्व र प्रभावकारिताका लागि अपरिहार्य देखिन्छ।”
डा. शर्माले दश निर्देशनात्मक सिद्धान्तको आधारमा एनआरएनएको रिब्रान्डिङ गर्दै पुस्तौंसम्म रहने धरोहर संस्था बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले आफ्नो नेतृत्वमा एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी र दिगो एनआरएनए बनाउने योजना प्रस्तुत गर्दै, बहुआयामिक दृष्टिकोण, ज्ञान, सीप र नवप्रवर्धनलाई प्राथमिकता दिने बताए। साथै, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए निर्माण गर्न, र एनआरएन र नेपाल सरकारका लागि भरपर्दो साझेदारको रूपमा संघलाई स्थापित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।


प्रतिक्रिया