युद्ध अन्त्यका लागि इरानका तीन शर्त

युद्ध अन्त्यका लागि इरानका तीन शर्त



तेहरान । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा तेहरानले आफ्नो अधिकारको मान्यता, क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तर्राष्ट्रिय ग्यारेन्टी नभएसम्म सङ्घर्ष रोक्न नसकिने स्पष्ट पारेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत रुस र पाकिस्तानका नेतासँग भएको कुराकानीपछि आफ्नो देश शान्तिप्रति प्रतिबद्ध रहेको दोहोर्याएका छन् । उनका अनुसार ‘यहुदी शासन र अमेरिकाले भड्काएको’ यो युद्ध अन्त्य गर्ने एक मात्र उपाय भनेको इरानका वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नु, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउनु र भविष्यमा इरानमाथि आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी दिनु हो ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । सो आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला सैयद अली खामेनी, उच्च सैन्य कमान्डर तथा सर्वसाधारणको मृत्यु भएको थियो । त्यसपछि इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजीसी)ले इजरायलका विभिन्न स्थानलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर-सइद इरवानीका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सैन्य कारबाहीका कारण महिला तथा बालबालिकासहित कम्तीमा एक हजार ३४८ सर्वसाधारणको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन् । यसबिच संयुक्त राष्ट्र सुरक्षा परिषद्ले खाडी सहयोग परिषद् (जिसिसी) देश र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गर्दै प्रस्ताव पारित गरेको छ ।

१५ सदस्यीय परिषद्मा प्रस्तुत उक्त प्रस्ताव १३–० मतले पारित भएको थियो । प्रस्तावलाई बहराइनले नेतृत्व गरेको थियो र १३० भन्दा बढी देशले सह–प्रायोजन गरेका थिए, जसमा भारत पनि समावेश छ । चीन र रुस मतदानमा सहभागी भएनन् । प्रस्तावमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र जोर्डनमाथि इरानले गरेको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भन्दै कडा शब्दमा निन्दा गरिएको छ ।

साथै होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानी चेतावनीप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ । यसै क्रममा इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानका अनुसार इराकको तट नजिक दुई तेल ट्याङ्करमा आक्रमण भएको छ । उक्त घटनामा ३८ जना चालक दलका सदस्यलाई उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ । उता इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्सले ‘अपरेसन ट्रु प्रोमिस-४’ को ४०औँ चरण सुरु भएको घोषणा गरेको छ ।

इरानको मेहर समाचार एजेन्सीका अनुसार यस अन्तर्गत अमेरिकी सैन्य आधार, तेल अभिव र हाइफा क्षेत्रमा विभिन्न मिसाइल प्रहार गरिएको छ । ‘गदर’, ‘इमाद’, ‘खेबर शेकान’ र ‘फताह’ नामका मिसाइल प्रयोग गरिएको दाबी गरिएको छ ।

इरानले खाडी क्षेत्रका तेल ट्याङ्करमा आक्रमण गरेको तथा होर्मुज जलडमरूमध्य बन्द गरेको घटनाले विश्व ऊर्जा आपूर्तिमा असर परेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाएको छ । राज्य सञ्चारमाध्यम प्रेस टिभीले सार्वजनिक गरेको भिडियोमा पर्सियन खाडी र होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजको गतिविधि कडाइका साथ निगरानी भइरहेको देखाइएको छ ।

उक्त फुटेजमा इरानी सुरक्षा बलका स्पिडबोट सक्रिय रहेको र सानो गतिविधि भए पनि जहाज लक्ष्य बन्न सक्ने चेतावनी दिइएको देखिन्छ । न्युयोर्क टाइम्सका अनुसार इरानको प्रतिआक्रमणले पश्चिम एसियाभर रहेका कम्तीमा १७ अमेरिकी सैन्य आधार तथा अन्य संरचनामा क्षति पुर्याएको छ । यो निष्कर्ष स्याटेलाइट तस्बिर, सामाजिक सञ्जाल भिडियो, अमेरिकी अधिकारीहरूको भनाइ र इरानी राज्य सञ्चार माध्यमका रिपोर्टको विश्लेषणपछि निकालिएको हो ।

बहराइन, जोर्डन, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा रहेका अमेरिकी आधार पनि आक्रमणको निशानामा परेको बताइएको छ । तीमध्ये अमेरिकी थाड मिसाइल रक्षा प्रणालीका रडार सबैभन्दा महँगो क्षति भएको उल्लेख गरिएको छ ।

यसका साथै इराक, कुवेत, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियामा रहेका अमेरिकी कूटनीतिक नियोगमा पनि आक्रमण भएको जनाइएको छ । यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गर्नु भएको छ । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उनले बताएका छन् ।