गोरखा माइक्रोबस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, मृतक सबै भारतीय नागरिक

गोरखा माइक्रोबस दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो, मृतक सबै भारतीय नागरिक


ग्लोब नेपाल
162
Shares

गोरखा । सहिद लखन गाउँपालिका–३ कान्टारमा शनिबार भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाको मृतकको पहिचान खुलेको छ । बा.प्र.०१–००६ ख ८४३० नम्बरको सो माइक्रोबसमा मनकामना दर्शन गरेर फर्कँदै गरेका यात्रु सवार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भरतबहादुर विकका अनुसार दुर्घटनामा परी निधन हुने सात जना भारतीय नागरिक छन् । भारतका करिब ५८ वर्षीय मुतु कुमार, ५८ वर्षकै अनामलिक, ५९ वर्षकी मीनाक्षी, ५३ का सिवगामी, ५७ वर्षका विजायल, ५८ वर्षकी मीना र ६० वर्षका तमिलारसीको घटनास्थलमा नै मृत्यु भएको छ ।

मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार विद्युतीय माइक्रोबस दुर्घटनामा परेको हो । सडकखण्डबाट करिब २०० मिटर तल खसेको माइक्रोको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने जनाइको छ । प्रहरी प्रमुख विकका अनुसार घटनाका घाइतेलाई उद्धार गरी थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको छ । ६२ वर्षका सोरनम, ६५ वर्षका मंगदा जलम, ७५ वर्षकी सुभाद्रा, ६५ वर्पकी मायाल, ७३ वर्षकी सरोजा, ७५ वर्षकी भाग्यलक्ष्मी र ३४ वर्षकी मीनाक्षीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चालक लमजुङको बेँसीसहर नगरपालिका–१ का ४६ वर्षका पुष्प मल्ल ठकुरी सकुशल छन् भने सहचालक बेँसीसहर नगरपालिका–३ का २९ वर्षका सन्तोष गुरुङ घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।