काठमाडौं । इरानले आइतबार पहिलो पटक इजरायलमाथि ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार गरेको छ ।
इरानले अमेरिका र इजरायलका ठेगानाहरूमा गरिएको जवाफी हमलामा आफ्नो सेजिल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले इजरायलका सैन्य तथा रक्षा सुविधाहरूलाई निशाना बनाइएको जनाएको छ ।
‘सेजिल’को अर्थ ‘जलिरहेको ढुंगा’ हो । यो ठोस इन्धन (सोलिड फ्युल)बाट चल्ने रणनीतिक मिसाइल हो, जसले दुई हजारदेखि २५ सय किलोमिटरसम्म आक्रमण गर्न सक्ने बताइएको छ ।
यसको गति ‘म्याक १३’भन्दा बढी रहेको बताइएको छ र यो ध्वनिको गतिभन्दा करिब १३ गुणा छिटो उड्न सक्छ ।
‘द नेशनल इन्ट्रेस्ट’ पत्रिकाका अनुसार यस मिसाइलको पहुँच इजिप्ट, सुडानका केही भाग, युक्रेनको ठूलो हिस्सा, दक्षिणी रुसका केही भाग, पश्चिमी चीनको हिस्सा, भारत तथा हिन्द महासागर र भूमध्यसागरका ठूला क्षेत्रहरूसम्म पुग्न सक्छ ।
इरानी सञ्चारमाध्यमका अनुसार ‘सेजिल’शब्द कुरानको ‘सुराह अल–फिल’को एउटा कथासँग जोडिएको छ, जसमा ‘सेजिल’ नामका ढुंगाहरू प्रहार गरेर शत्रुलाई समाप्त पारिएको प्रसंग पाइन्छ ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इरानले युद्धविरामको माग नगरेको बताएका छन् । उनले अमेरिकासँग वार्ताको प्रयास पनि नगरेको बताएका छन् । उनले जबसम्म आवश्यक हुन्छ, इरानले आफ्नो रक्षा गरिरहने प्रस्ट पारेका छन् । सीबीएस न्यूजलाई दिएको अन्तर्वार्तामा उनले इरान यस संघर्षमा पछि नहट्ने बताएका छन् ।
जबसम्म ट्रम्पले यो गैरकानुनी युद्ध हो भनेर स्वीकार गर्दैनन्, तबसम्म इरानले जवाफ दिइरहने उनले प्रस्ट पारेका छन् ।


प्रतिक्रिया