काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै


ग्लोब नेपाल
189
Shares

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकामा विशेष कार्यक्रमका साथ मनाइँदैछ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गर्नेछ ।

आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहनेछ । यस अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ ।