लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न संविधान संशोधनको माग गरेको छ। गत साता सम्पन्न संघको पूर्ण बैठकले संविधान संशोधनमार्फत वंशजको नागरिकताको निरन्तरता कायम गर्न नयाँ बन्ने सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा २९१ संशोधनका लागि आवश्यक पहल गर्ने निर्णय समेत गरेको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘१०० संकल्प’ शीर्षकको ४० पृष्ठीय दस्तावेजमा ९९ नम्बर बुँदामा नेपाली नागरिकता, मतदान अधिकार तथा ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने उल्लेख गरिएको थियो।
नेपालमा रास्वपाको नेतृत्वमा सरकार गठन हुने सम्भावना बढ्दै गएपछि गैरआवासीय नेपालीका माग सम्बोधन हुनेमा संघले विश्वास व्यक्त गरेको छ। अध्यक्ष डा. शर्माले नयाँ सरकारसमक्ष छुट्टै ज्ञापनपत्र पेश गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै रास्वपाले आफ्नो घोषणापत्रमा समेटेका प्रतिबद्धताहरू कार्यान्वयन भए मात्रै पनि माग पूरा हुने बताएका छन्।
दुई दशकभन्दा बढी समयदेखि गैरआवासीय नेपालीहरूले उठाउँदै आएको नागरिकताको निरन्तरता सम्बन्धी माग हालको संवैधानिक व्यवस्थाले अझ जटिल बनाएपछि संविधान संशोधनको आवाज थप सशक्त बन्दै गएको हो।


प्रतिक्रिया