हेटौँडामा नक्कली परीक्षार्थी पक्राउ

हेटौँडामा नक्कली परीक्षार्थी पक्राउ



मकवानपुर । मकवानपुरबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अर्काको नाममा परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौँडा–१० भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा अर्काको नाममा परीक्षा दिन आएको एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुली मरिन गाउँपालिका–४ स्थायी घर भई हाल हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्ययनरत १८ वर्षका बिराज विक रहेका छन् । उनले अर्काको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन आएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले विकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्दा उनले हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरी बस्ने १९ वर्षका अंकिश श्रेष्ठको नामको प्रवेशपत्र प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताए ।