अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ

अफवाह फैलाएको आरोपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएकाे आराेपमा मध्यपूर्वमा अहिलेसम्म ११ जना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३, साउदी अरबमा ४, कतारमा ३ जना ओमानमा १ जना रहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । युद्धग्रस्त देशले सामाजिक सञ्चालमा प्रवाह हुने भ्रमपूर्ण सन्देश तथा सामग्रीमा कडाइ गर्दै आएका छन् ।

यस्तै इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेका मन्त्रालयले जनाएको छ । ३३ वर्षीय झा अहिले त्यहाँको कारागारमा रहेका मन्त्रालयले आज जानकारी गराएको छ ।

झा मध्यपूर्वमा तनाव शुरू हुनुभन्दा अघि नै पक्राउ परेका परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताउए । झाको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको र मन्त्रालयले थप बुझ्ने काम गरिरहेको उनको भनाइ छ ।

महोत्तरी घर भएका झा उदयपुरको त्रियुगा नगरपालिका–११ मा बस्दै आएका र दुई वर्षअघि कामका लागि दुबई पुगेका थिए । त्यहाँबाट जहाजमा तेल लिन इरान जाने गरेको र त्यसै क्रममा पक्राउ परेका खुलेको छ ।