काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र सुरक्षा अवस्थालाई मध्यनजर गरी सरकारले त्यहाँ रहेका नेपालीको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान सञ्चालन गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले मध्यपूर्व क्षेत्रबाट स्वदेश फर्कन चाहने नेपाली नागरिकका लागि आजदेखि शुरू भएको विशेष उडान तीन दिन चल्ने बताए ।
आज बेलुका काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाज दुबई जानेछ । त्यो जहाज भोलि दुबईबाट काठमाण्डौ आउने कार्यतालिका छ । त्यस्तै पर्सि २२ गते काठमाडौंबाट अर्को जहाज साउदी अरबको दमाम गएर त्यही दिन काठमाडौं फर्कनेछ ।
मन्त्रालयका प्रवक्ता क्षेत्रीले प्रि–बुक भएका तथा नेपाल फर्कन चाहने नागरिकलाई फिर्ता ल्याउने जानकारी दिए ।
मन्त्रालयकाअनुसार अमेरिका/इजरायल र इरानबीच चलिरहेकाे युद्धका कारण मध्यपूर्वमा विभिन्न कारणले ज्यान गुमाएका ३८ जना नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको छ । रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी ३८ वटा शव नेपाल ल्याउन बाँकी छ ।
प्रवक्ता क्षेत्रीले मध्यपूर्व क्षेत्रमा आक्रमणबाट अहिलेसम्म १ जना नेपालीको ज्यान गएको तथा २१ जना घाइते भएका जानकारी दिए । त्यस्तै ८६ हजार ४२० जना नेपाली नागरिकले अहिलेसम्म कन्सुलर सेवा विभागको उपलब्ध पोर्टलमा आफ्नो विवरण दर्ता गराएको विवरण छ ।


प्रतिक्रिया