राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष भण्डारीद्वारा शपथ



काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलवार आयोजित विशेष समारोहमा उनले शपथ लिएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष नवनिर्वाचित उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको उपस्थिति रहेको थियो । सो अवसरमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीको समेत सहभागिता थियो ।

यसअघि सोमबार बसेको राष्ट्रिय सभाको बैठकले भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको थियो ।