असन क्षेत्रमा वैशाख ५ गतेदेखि शनिवार गाडी प्रवेश निषेध

असन क्षेत्रमा वैशाख ५ गतेदेखि शनिवार गाडी प्रवेश निषेध



काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन आउँदो वैशाख ५ गतेदेखि शनिवार गाडी प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलको अध्यक्षतामा बसेको सरोकारवालाहरूसहितको बैठकले वैशाख ५ गतेदेखि शनिवार असनमा गाडी प्रवेश निषेध गर्ने निर्णय गरेको हो । यसअघि चैत २८ गतेदेखि नै यो व्यवस्था कार्यान्वयन गर्ने निर्णय भए पनि तयारीमा कमजोरी हुन नदिन एक हप्ता पछाडि सारिएको महानगरले जनाएको छ ।

सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने ठाउँ असनको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु आफूहरूको दायित्व रहेको कार्यवाहक मेयर डङ्गोलले बताए ।

‘भेहिकल फ्री असन’ कार्यक्रमअन्तर्गत महानगरपालिकाको वडा नम्बर २७ कमलाक्षी चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा हरेक शनिवार गाडी प्रवेशमा रोक लगाइनेछ । यस क्षेत्र भएर आउजाउ गर्ने गाडीलाई वैकल्पिक मार्ग प्रदान गरिनेछ ।

यस क्षेत्रलाई सम्पदा मार्गका रूपमा विकास गरेर स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रवर्द्धन गरिने महानगरको भनाइ छ ।