काठमाडौं । अवैध अनलाइन सट्टेबाजमा संलग्न १८ भारतीय नागरिकसहित २० जनालाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरूले विभिन्न अनलाइन एपमार्फत सट्टेबाजसम्बन्धी गैरकानुनी क्रियाकलाप गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । पक्राउ पर्नेमा दुई जना नेपाली र १८ जना भारतीय नागरिक रहेका छन् ।
उनीहरूले तिलोत्तमा नगरपालिकाका दुई स्थानमा कोठा भाडामा लिएर अनलाइन जुवा खेलाउँदै आएका थिए । प्रहरीले तिलोत्तमा–७ बाट भारतको उत्तर प्रदेश मिश्रवलिया गाउँका ३० वर्षीय प्रदीप गुप्ता, २२ वर्षीय पवन कुमार, २० वर्षीय सतिश कुमार, २२ वर्षीय अभिषेक ठाकुर, बिहारका २१ वर्षीय मनुकुमार सोनी, २१ वर्षीय अमर कुमार, बिहार गोण्डाका २१ वर्षीय नर सिंह, उमेरी वेगमगंजका २४ वर्षीय राम असिस सिंह, बंगाल नदियाका ३१ वर्षीय सुदिप माझी र सोही स्थानका ३१ सुदीप माझीलाई पक्राउ गरेको छ ।
यस्तै, २७ चैतमा तिलोत्तमा–१५ कोटिहवाबाट दुई जना नेपालीसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जगदिशपुरका २८ वर्षीय सन्दिप कुमार, हैदरावाद हिमालय नगरका ४३ वर्षीय एम डी. हाकिम, उत्तर प्रदेश कुशिनगरका २६ वर्षीय सतेन्द्र सिंह, गोरखपुरका ३६ वर्षीय श्याम सुन्दर, उत्तर प्रदेश रतनपुरका २४ वर्षीय दिपक पाण्डे, उत्तर प्रदेश गाजिपुरका ३२ वर्षीय रियाज अहमद, कानपुर देहादका ३५ वर्षीय प्रदीप कुमार, दिल्लीका ३६ वर्षीया तन्नु कुमारी र ३८ वर्षीया राखी झा रहेका छन् ।
यस्तै, प्रहरीले रुपन्देहीको ओमसतिया गाउपालिका–१ का ३४ वर्षीय अक्लेशकुमार यादव र सुर्खेत घर भई हाल तिलोत्तमा–१५ कोटिहवा बस्ने ३८ वर्षीया सिमा रानालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न सामानसमेत बरामद गरेको छ ।
भारतीय विभिन्न बैंकहरूका चेक बुक २३ बन्डल, विभिन्न बैंकको एटीएम कार्डहरू २५ थान, नेपाली नगद ९१ हजार ७२५ रुपैयाँ, भारतीय पासपोर्ट १ थान, स्टायाम छाप ३ थान, पेनड्राईभ ३ थान, मोबाइल ४१ थान, ल्यापटप ९ थान, भारतीय विभिन्न व्यक्तिका आधार कार्ड ३० थान, राउटर १ थान र रजिष्टार ५ थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।


प्रतिक्रिया