काठमाडौं । सुदूरपश्चिम र गण्डकी प्रदेशले धानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् ।
जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५६ रनले हरायो । यस्तै वीरगन्जमा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई आठ विकेटले हरायो ।
जनकपुरमा जितका लागि एक सय ९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा सबै विकेटको क्षेतिमा एक सय ३५ रनमा समेटिएको थियो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रनको योगफल खडा गरेको थियो ।
यस्तै वीरगन्जमा जितका लागि दुई सय आठ रनको लक्ष्य पछ्याएको गण्डकीले ४४.१ ओभरमा दुई विकेटको क्षतिमा दुई सय ११ रन जोड्दै लक्ष्य पूरा गरेको हो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ४५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय सात रन बनाएको थियो ।
गण्डकीको जितमा अर्जुन कुमालले अविजित एक सय तीन रनको शतकीय पारी खेले । यससँगै अर्जुन प्रधानमन्त्री कपको जारी संस्करणमा दोस्रो तथा प्रधानमन्त्री कपमा तेस्रो शतक हान्ने खेलाडी बनेका छन् ।
जितसँगै दोस्रो स्थानमा रहेको सुदूरपश्चिमको आठ खेलबाट १० अङ्क छ । पराजित पुलिस सात खेलबाट नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्मीको सात खेलबाट १३ अङ्क छ । यस्तै गण्डकीको आठ खेलबाट सात अङ्क जोड्लै आठौँ नै स्थानमा छ । पराजित लुम्बिनी सात अङ्कसहित सातौँ स्थानमा छ ।
प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।


प्रतिक्रिया