काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको समितिलाई भंग गर्न माग गरेको छ ।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउन माग गरेको हो ।
भेलाले तीनवटा मुद्दालाई केन्द्रित गरेर छलफल अघि बढाएको छ । भेलामा सहभागी स्रोतका अनुसार पहिलो, अध्यक्ष लिङ्देनले राजीनामा दिनुपर्ने । दोस्रो, नियमित महाधिवेशनको मिति तय गर्नुपर्ने र तेस्रो, विकल्प खोज्ने ।
सहभागी नेताहरूका अनुसार २१ फागुनको चुनावमा पार्टीको लज्जास्पद नतिजाका कारण अध्यक्ष लिङ्देनले राजीनामा दिनुपर्ने तर्क उठिरहेको छ । महामन्त्री राणाले बोलाएको भेलामा सहभागीले अध्यक्ष लिङ्देनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् । त्यसलाई राणा समूहले आफ्नो अडानको रूपमा पनि लिने भएको छ ।
त्यसैगरी, अहिले अध्यक्ष लिङ्देनको कार्यकाल सकिएकोले महाधिवेशनको मिति पनि तोक्नुपर्ने तर्क गरिरहेका छन् । जेठभित्र नियमित महाधिवेशन गर्नुपर्ने तर्क छ । उनीहरूले पार्टीले ६ महिनाका लागि म्याद थपेका कारण अहिलेका अध्यक्ष म्यादी भएको दाबी गर्दै एक साताभित्र नियमित महाधिवेशनको मिति तोक्नुपर्ने अडान राख्ने भएका छन् ।
भेलामा उठेका मागलाई लिपिबद्ध गरी पार्टी कार्यालयमा दर्ज गर्ने तयारी पनि भइरहेको छ ।


प्रतिक्रिया