हंगेरीमा १६ वर्ष लामो ‘ओर्बान युग’को अन्त्य

हंगेरीमा १६ वर्ष लामो ‘ओर्बान युग’को अन्त्य



बुडापेस्ट । युरोपेली संघ (ईयू) को नीतिको कडा आलोचक मानिने हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा हंगेरीका नागरिकले ऐतिहासिक रूपमा मतदान गर्दै युरोपेली संघको पक्षमा वकालत गर्ने मध्य-दक्षिणपन्थी नेता पिटर म्याग्यारलाई अत्यधिक मत दिएका हुन् ।

देशको सुस्त अर्थतन्त्र र बढ्दो महँगीका कारण ६२ वर्षीय ओर्बानको राष्ट्रवादी ‘फिडेज’ पार्टीले म्याग्यारको युरोप समर्थक ‘टिसा’ पार्टीसँग नमिठो हार व्यहोर्नुपरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत शीर्ष युरोपेली अनुदारवादी नेताहरूको समर्थन पाए पनि ओर्बान आफ्नो सत्ता जोगाउन असफल भएका छन् ।

शीतयुद्धकालका एक प्रखर कम्युनिस्ट विरोधी युवा नेता ओर्बान युरोपेली संघभित्र सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन्।

समर्थकहरूका लागि उनी एक देशभक्त नायक हुन् भने स्वदेश तथा विदेशका आलोचकहरूले उनलाई हंगेरीलाई अधिनायकवादी बाटोमा डोर्‍याएको आरोप लगाउँदै आएका थिए।

सन् १९६३ मा बुडापेस्ट नजिकैको गाउँमा जन्मिएका उनले कानुनको अध्ययन गर्नुका साथै अक्सफोर्ड विश्वविद्यालयमा राजनीतिक दर्शनसमेत पढेका थिए। सन् १९९८ मा मात्र ३५ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बनेका उनले सन् २००२ मा सत्ता गुमाएका थिए।

त्यसपछि आठ वर्ष प्रतिपक्षमा बसेर सन् २०१० मा भारी बहुमतका साथ सत्तामा फर्किएका उनले हंगेरीको संविधान परिमार्जन गर्दै अनुदार लोकतन्त्र स्थापना गर्ने कानुनहरू पारित गरेका थिए।

कार्यकारी शक्तिको केन्द्रीकरण, गैरसरकारी संस्था र प्रेस स्वतन्त्रतामाथिको अङ्कुश तथा न्यायपालिकाको स्वतन्त्रतामाथिको हस्तक्षेपका कारण लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर उनको युरोपेली संघसँग पटकपटक विवाद हुँदै आएको थियो। यही कारण ईयूले हंगेरीलाई दिने अर्बौं युरोको कोषसमेत रोक्का गर्ने निर्णय गरेको थियो।