काठमाडौं । युवा अभियन्ता रक्षा बमले गृहमन्त्री सुधन गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीलाई उनले जनताको आर्थिक हैसियतलाई लिएर गरिएको टिप्पणी पदीय मर्यादाविपरीत भएको उल्लेख गरेकी छिन् ।
बमले फिल्मी संवाद र यथार्थ जीवनका बिचमा ठूलो खाडल हुने भन्दै आर्थिक हैसियतका आधारमा कसैको जीवनलाई नै गलत भन्न नमिल्ने तर्क गरेकी छिन् । देशका २० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको तथ्य स्मरण गराउँदै उनले राज्यले मन्त्रीको जस्तो आर्थिक हैसियत बनाउने अवसर सबै नागरिकलाई नदिएको स्पष्ट पारिन् । जनताको हैसियत सुधार्ने कुनै यथार्थपरक योजना नभएको अवस्थामा नागरिकलाई नै दोष दिनु विडम्बनापूर्ण भएको उनको भनाइ छ ।
सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै आलोचना भएपछि गृहमन्त्री गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु ‘पाप’ नभएको बताएका थिए । सोमबार इन्स्टग्राममा लेख्दै मन्त्री गुरुङले सरकारमा आएर भ्रष्टाचार गरी कमाउनु चाही ‘पाप’ भएको टिप्पणी गरेका थिए । उनले विरोधीहरूलाई जवाफ दिँदै लेखेका थिए, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । चेतना भया !’
यस पोस्टमा पनि आलोचना भएपछि गुरुङले त्यसलाई अहिले हटाएका छन् ।
रक्षा बमको पोस्ट:
माननीय गृहमन्त्रीज्यू,
फिल्मी लाइनहरू फिल्मका लागि लेखिएका हुन्छन्, यथार्थमा जीवन भनेकै संघर्ष हो। आर्थिक हैसियतका हिसाबले कसैले बाँचिरहेको जीवन नै गलत हो भन्न मिल्दैन।
आज हाम्रो देशका २०% भन्दा बढी जनता गरिबीको रेखामुनि छन्, र तपाईंको जस्तो आर्थिक हैसियत बनाउने अवसर राज्यले धेरै कम मानिसलाई दिएको हुन्छ। गरिब देशका धेरै जनताका लागि उच्च आर्थिक हैसियत बनाउने कुरा सपना जस्तै हुन्छ। जनताको आर्थिक हैसियत आजै समृद्ध बनाउन न यो राज्यका स्रोतको सीमितताका कारण सम्भव छ, न तपाईंहरूसँग यसको यथार्थपरक योजना नै छ।
जनतालाई नै गलत ठान्ने प्रवृत्तिप्रति दिक्क भएर नै तपाईंहरूले यो अवसर पाउनुभएको हो। आज गरिब भएर मर्नु गल्ती हो भन्ने हो भने, भोलि गरिब हुनु नै अपराध हो भन्न तपाईंलाई कति बेर लाग्ला र ? आफ्नो आर्थिक हैसियत उच्च बनाउन नसक्नेहरूलाई ‘गलत’ को संज्ञा दिनु तपाईंको पदीय मर्यादाविपरीत हो। बेलैमा सचिनुस् ।


प्रतिक्रिया