काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको संलग्नता बढ्दै जानु सकारात्मक पक्ष भएको बताएका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले समसामयिक राजनीतिक अवस्थाबारे धारणा व्यक्त गरेका छन् ।
उनले शिक्षित, देशबारे जानकार तथा आधुनिक प्रविधिमा अभ्यस्त युवाको सहभागिताले राज्य सञ्चालनमा योगदान पुग्ने बताएका छन् । साथै, निरन्तर नयाँ विकल्पको खोजी गर्ने प्रवृत्तिले दीर्घकालीन स्थायित्वमा प्रभाव पार्ने विषय पनि उल्लेख गरेका छन् ।
शाहले भने, ‘राजनीतिक राज्यपद्दति र शासन प्रणालीमा हामीले निकै हेरफेर हेर्यौँ, तर कोरा परिवर्तन मात्र भयो । दलदलको खलबलमा धेरै दुगुर्यौँ तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्यौँ । सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्रै हामी लाग्यौँ । फलस्वरूप हाम्रो देश प्रयोगशाला मात्रै भयो । स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्र समग्र स्थिति राम्रो बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ ।’
उक्त सन्देशमा उनले विगतका राजनीतिक परिवर्तन र तिनका परिणामप्रति संकेत गर्दै संस्थागत स्थायित्व, निरन्तरता र नीतिगत दृढताको आवश्यकता औँल्याएका छन् ।
भिडियो सन्देशमा उनलाई ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह’ भनेर उल्लेख गरिएको छ । यस सन्देशमार्फत उनले समसामयिक राजनीतिक अभ्यास र त्यसको प्रभावबारे धारणा सार्वजनिक गरेका छन् ।


प्रतिक्रिया