काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद् भवन निर्माणप्रति चासो व्यक्त गरेका छन्। सहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग आज छलफल गर्दै उनले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशनसमेत दिए ।
छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रूबीकुमारी ठाकुर र राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीसमेत उपस्थिति थिए ।
विसं २०७६ असोज १८ मा संसद् भवन निर्माणका लागि तुन्डी शेख जेभीसँग रु सात अर्ब ९४ करोडमा सम्झौता भएको थियो । प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ ।
हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण सम्पन्न भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ । भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बानियाँ जेभीसँग रु दुई अर्ब ३४ करोड र छाना निर्माणका लागि चेनलिंक इञ्जिनियरिङसँग रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको छ ।


प्रतिक्रिया