काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १५२औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार (वैशाख १) टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
यही वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिने संघीय संसद् सचिवालयले जनाएको छ ।
भ्रमणका दौरान उनले विभिन्न देशका संसद्का प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम छ ।
अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरू सहभागी हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।


प्रतिक्रिया