काठमाडौं । भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । भारतीय जनता पार्टी (भाजपा) का नेता चौधरीलाई आज बिहारका राज्यपाल सैयद अता हसनैनले शपथ दिलाएका हुन् ।
उनीसँगै जनता दल युनाइटेड (जेडीयू) का विजयकुमार चौधरी र बिजेन्द्रप्रसाद यादवले पनि मन्त्रीका रूपमा शपथ लिएका छन् । दुवै जना उपमुख्यमन्त्री बन्ने सम्भावना छ ।
५७ वर्षीय सम्राट चौधरी बिहारमा भाजपाको पहिलो मुख्यमन्त्री बनेका छन् । उनी कुशवाहा समुदायका हुन् । सन् २०२३ को जातीय सर्वेक्षणअनुसार बिहारमा कुशवाहाको जनसङ्ख्या ४ दशमलव ३ प्रतिशत छ । बिहारमा कुशवाहा यादवपछि सबैभन्दा ठूलो अन्य पिछडिएको समूह हो ।
७५ वर्षीय नीतिश कुमारले राजीनामा दिएपछि चौधरी मुख्यमन्त्री बनेका हुन् । जेडीयूका नेता नीतिशले भर्खरै राज्यसभाको सदस्यका रूपमा शपथ लिएका थिए । भारतमा राज्यसभा सदस्यको शपथ लिएको व्यक्तिले अनिवार्य रूपमा १४ दिनभित्र मुख्यमन्त्री पद छाड्नुपर्ने प्रावधान छ ।
यससँगै बिहारको मुख्यमन्त्रीका रूपमा नीतिश कुमारको २१ वर्षे राजनीतिक यात्रा समाप्त भएको छ । उनले ५० वर्षभन्दा धेरै समय बिहारको राजनीतिमा प्रभुत्व जमाए ।
नीतिश सन् २००० मा पहिलो पटक सात दिनका लागि बिहारको मुख्यमन्त्री बनेका थिए । सन् २००५ पछि उनी लगातारजस्तो बिहारको सरकार प्रमुख बने । बिहारमा उनको ‘सुशासन’ केन्द्रित शासन शैलीले लामो समय प्रभाव जमाएको थियो ।
नीतिश कुमार सन् २०२५ को नोभेम्बर २० मा कीर्तिमानी १०औँ पटक बिहारको मुख्यमन्त्री निर्वाचित भएका थिए ।


प्रतिक्रिया