काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेता पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टी एकतामा बाधक बन्ने देखिएको टिप्पणी गरेका छन् ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबारको बैठकले खड्कामाथि ७ दिने स्पष्टीकरण सोधेको थियो । खड्काले ‘कार्यवाहक सभापति’ हैसियतमा विज्ञप्ति जारी गरेको भन्दै स्पष्टीकरण सोधिएको थियो ।
त्यसप्रति लक्ष्य गर्दै कोइरालाले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ। यसै सन्दर्भमा पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टी भित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ। अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधीले पार्टी जीवनलाई थप सङ्कटतर्फ धकेल्ने निश्चितप्रायः छ ।’
विज्ञप्ति-
नेपाली कांग्रेसमा पछिल्लो समय उत्पन्न मतभेदप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
लोकतन्त्रको जीवन्त अभ्यास गर्दै आएको ऐतिहासिक पार्टीको महत्त्व लोकतन्त्र र राष्ट्रियता दुवैका लागि हिजो थियो, आज छ र भोलि पनि रहिरहनेछ।
इतिहासका कालखण्डमा अनेक आरोह–अवरोह व्यहोर्दै आएको कांग्रेस यतिबेला इतिहासकै सबैभन्दा कमजोर अवस्थामा छ। यस्तो बेलामा उत्पन्न आन्तरिक विवादले पार्टीमात्रै होइन सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुग्न सक्ने जोखिम बढाएको छ।
तसर्थ, यस्तो प्रतिकूल अवस्थामा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य छ। कुनै पनि जीवन्त पार्टीभित्र सैद्धान्तिक मतभिन्नता हुनु स्वभाविक मानिन्छ। पटकपटक भएका आन्दोलन र विद्रोहपछि समयानुकूल रूपमा पार्टीका गतिविधि रुपान्तरित हुनुपर्छ भन्नेमा क्नुै दुई मत छैन।
यद्यपि मूल घर नै तहसनहसको अवस्थामा पुग्दासमेत परिवारका सदस्यहरूबीच वैमनश्यता कायम राखेर रूपान्तरणको कुनै अर्थ हुँदैन। पछिल्लो समय कांग्रेसमा रूपान्तरणको जरुरी थियो, तर त्यसैका नाममा भएका गतिविधिले कांग्रेसलाई कुन अवस्थामा पुर्यायो हामी सबै जानकार छौं।
Ncell
कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ। यसै सन्दर्भमा पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ। अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधीले पार्टी जीवनलाई थप सङ्कटतर्फ धकेल्ने निश्चितप्रायः छ।
तसर्थ यो बेला पार्टीमा बृहत एकता कायम गर्न, गराउन अत्यावश्यक भएको छ। त्यसका लागि म प्रयत्नशील छु। १५ औं महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको अर्थ छैन।
क्रियाशील सदस्यतामा अद्यावधिकको नाममा हुने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित हुने देखिन्छ। अझै पनि नेपाली कांग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित भएको छैन भन्ने कुरामा म विश्वस्त छु र आम कांग्रेसजनलाई त्यो अनुभूत गराउँदै पार्टीको बृहत एकताका पक्षमा उभिन सबैलाई अपील गर्दछु।
जय नेपाल
शशांक कोइराला


प्रतिक्रिया