काठमाडौं । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ । खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको इजलासले रिहाको आदेश गरेको हो ।
‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन । निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ संक्षिप्त आदेशमा भनिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कालाई १५ चैतमा पक्राउ गरेको थियो ।


प्रतिक्रिया