अतिक्रमित जग्गा फिर्ता गर्न त्रिविको ३५ दिने सूचना

अतिक्रमित जग्गा फिर्ता गर्न त्रिविको ३५ दिने सूचना



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सार्वजनिक सूचना निकालेको छ ।

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ मा विश्वविद्यालय र अन्तर्गतका निकायहरूको स्वामित्वमा रहेका जग्गा तथा अचल सम्पत्ति व्यक्ति, कम्पनी, सङ्घ–संस्था वा निकायले विश्वविद्यालयको ऐन, नियम तथा कानून विपरीत अनधिकृत रूपमा कब्जा, भोग तथा नियन्त्रण गरिरहेको उल्लेख छ ।

त्यस्ता अतिक्रमण उल्लेख भएका र नभएका जग्गा खाली गरी आधिकारिक रूपमा फिर्ता गर्न त्रिभुवन विश्वविद्यालयले आज सूचना निकालेर आग्रह गरेको हो ।

सरकार वा दाताहरूले शैक्षिक विकासका लागि विभिन्न समय र अवस्थामा विश्वविद्यालयलाई भोगाधिकारका लागि उपलब्ध गराएका जग्गा तथा अचल सम्पत्ति सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र खाली गरी/गराई विश्वविद्यालयलाई आधिकारिक रूपमा फिर्ता गर्न/गराउन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको उल्लेख छ । अटेरी गरेमा नियमअनुसार अघि बढ्ने भनिएको छ ।

त्रिवि कार्यकारी परिषद्को गएको चैत २३ गतेको निर्णयअनुसार सूचना प्रकाशन भएकाे हो । सरकारले गठन गरेको खोजबिन समितिले त्रिविको झन्डै २ हजार ५०० रोपनी जग्गा अतिक्रमणमा परेको औँल्याएको छ ।