महिला स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिन पूर्वमन्त्री पौडेलको सरकारलाई आग्रह

महिला स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिन पूर्वमन्त्री पौडेलको सरकारलाई आग्रह



काठमाडौं । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरका कारण महिलामा हुने अकाल मृत्यु रोक्न सुरु गरिएको कार्यक्रमलाई परिष्कृत रूपमा निरन्तरता दिन सरकारसँग आग्रह गरेका छन् ।

मातातीर्थ औँसीको अवसर पारेर सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले महिलाको स्वास्थ्य समयमै ध्यान नपुग्दा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि नि:शुल्क क्यान्सर स्क्रिनिङ कार्यक्रम अघि बढाइएको स्मरण गराएका हुन् ।

उक्त पहल उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा रहँदा सुरु गरिएको बताएका छन् ।

उनका अनुसार महिलामा हुने प्रमुख स्वास्थ्य जोखिममध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख कारण रहेकाले त्यसको नियन्त्रणका लागि विशेष अभियान आवश्यक थियो ।

सोही उद्देश्यअनुसार एचपीभी खोप अभियान तथा नियमित परीक्षण कार्यक्रमलाई राष्ट्रिय योजनामा समेटेर अघि बढाइएको उनले उल्लेख गरेका छन् ।

पूर्वमन्त्री पौडेलले महिलाको जीवन रक्षा र प्रारम्भिक पहिचान प्रणाली सुदृढ बनाउने लक्ष्यसहित सुरु गरिएका यी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन वर्तमान सरकारलाई आग्रह गरेका छन् ।