काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले पराजित गर्दै आर्मी क्लबले प्रतियोगिताको उपाधि जितेको हो ।
सूदुरपश्चिमले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । इमरान शेखले अविजित ४६ रनको योगदान दिए भने बसिर अहमदले ४५, तृत राज दासले ३१ तथा कुशल मल्लले १७ रन जोडे ।
बलिङतर्फ सूदुरपश्चिमका हेमन्त धामीले दुई तथा बिकास आग्री, शेर मल्ल र अशोक धामीले एक-एक विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट मैदान वीरगञ्जमा टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले ३९.४ ओभरमा अलआउट हुँदै १६१ रन जोड्यो । अशोक धामीले ४३, किरण ठगुन्नाले ३५, नारायण जोशीले २९, तथा हेमन्त धामीले १६ रन जोड्दा सुरुवाती ब्याट्सम्यान फ्लप सावित भए ।
ओपनर अभिषेक पलले ९, खडक बोहरा र नरेन भट्टले १-१ रन बनाउँदा राजु बोहरा र दीपक बोहराले ७-७ रनमात्रै जोडे ।
बलिङतर्फ आर्मीका आकाश चन्द र शाहब आलमले तीन-तीन विकेट लिए भने बसिर अहमदले दुई तथा कुशल मल्लले एक विकेट लिए । पिएम कपको इतिहासमा बिनाविभागीय टोलि सुदूरपश्चिमले पहिलोपटक फाइनल खेलेको थियो ।
पहिलो संस्करणको पिएम कपमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल नतिजाविहिन भएको थियो । यस्तै दोस्रो संस्करणमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। तेस्रो संस्करणमा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।
चौंथो संस्करणमा आर्मीले एपीएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो भने पाँचौं संस्करणमा एपीएफले आर्मीलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको थियो ।
छैटौं संस्करणमा पुलिसले आर्मीलाई ६ विकेटले हराउँदै च्याम्पियन बन्दा सातौं संस्करणको उपाधि पनि पुलिसले नै आर्मीलाई ६ विकेटले नै हराउँदै जितेको थियो ।


प्रतिक्रिया