भारतीय विदेश सचिव मिश्री काठमाडौँ आउने तयारी

भारतीय विदेश सचिव मिश्री काठमाडौँ आउने तयारी

उच्चस्तरीय कूटनीतिक सक्रियता तीव्र


ग्लोब नेपाल
216
Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालमा उच्चस्तरीय कूटनीतिक भ्रमणको क्रम जारी रहँदा भारतले पनि आफ्नो संलग्नता बढाएको छ । भारतीय विदेश सचिव विक्रम मिश्री आगामी ३०–३१ वैशाखमा काठमाडौँ भ्रमणमा आउने तयारी भएको परराष्ट्र मन्त्रालय स्रोतहरूले बताएका छन् ।

परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मितिमा नेपालले सकारात्मक जवाफ दिइसकेको छ । परराष्ट्र सचिव अमृतबहादुर राईका तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ ।

यसअघि २७ चैतमा मोरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको भेटमा उच्चस्तरीय भ्रमणअघि दुवै देशका प्राथमिकताका आयोजना र कार्यक्रम टुंग्याउने विषयमा छलफल भएको थियो । सोही भेटमा जयशंकरले नयाँ सरकारका प्राथमिकता बुझ्न विदेश सचिवलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए ।

मिश्रीको भ्रमणका औपचारिक एजेन्डा सार्वजनिक भइसकेका छैनन् । तथापि, भ्रमणका क्रममा उनले नेपाल सरकारका प्राथमिकता, द्विपक्षीय सहकार्यका क्षेत्र र आगामी उच्चस्तरीय भ्रमणको तयारीबारे परामर्श गर्ने अधिकारीहरूले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो हस्तान्तरण हुने सम्भावना पनि रहेको बताइएको छ ।

शनिबार नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको अन्तरक्रियामा मिश्रीले आफू ‘चाँडै’ काठमाडौँ आउने बताएका छन् । उनले भ्रमणको मिति अन्तिम चरणमा रहेको उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले भारतको सहयोगमा सञ्चालन भइरहेका आयोजना तथा कार्यक्रमहरूको प्रगति, देखिएका अवरोध र सहकार्यका नयाँ क्षेत्रबारे सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिरहेका छन् । मोरिससमा भएको सहमतिअनुसार द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउने र सहकार्यका क्षेत्र विस्तार गर्ने तयारी भइरहेको छ ।

नेपाल–भारतबीच सुरक्षा, जलस्रोत, सिँचाइ, सीमा व्यवस्थापन, व्यापार, वाणिज्य तथा कृषिलगायतका करिब तीन दर्जन द्विपक्षीय संयन्त्र सञ्चालनमा रहेका छन् । तीमध्ये केही संयन्त्र नियमित सक्रिय भए पनि केहीको बैठक लामो समयदेखि हुन सकेको छैन । भारतको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा सञ्चालित आयोजनामध्ये केहीमा प्रगति उत्साहजनक देखिएको छ भने केहीमा अपेक्षाअनुसार काम हुन सकेको छैन ।

परराष्ट्र मन्त्रालयले मिश्रीको भ्रमणअघि नेपालका प्राथमिकता तय गर्ने गृहकार्यलाई तीव्र बनाएको जनाएको छ । भ्रमणपछि प्राप्त निष्कर्षले आगामी उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ ।