नेपाल आफैंमा पर्यटनको पर्याय हो । यहाँका अग्ला हिमालदेखि विभिन्न नदीनाला र मठमन्दीर नेपाली र विदेशी सबैका लागि आकर्षणका विषय बन्दै आएका छन् । पछिल्लो समय नेपालमा आन्तरिक पर्यटनमा अप्रत्याशित वृद्धि भएको छ । सन् २०२५ मा नेपाल भ्रमण गर्ने कुल पर्यटकहरुमध्ये झण्डै ८ प्रतिशत आन्तरिक पर्यटक छन् । भारतबाट नेपाल आउने पर्यटकको संख्या पनि निकै बढेको छ । लगभग यो वर्ष नेपाल आएका पर्यटकमध्ये २५ प्रतिशत भारतीय नागरिक रहेको पर्यटन विकास बोर्डको रेकर्डले देखाएको छ ।
नेपाली चाडपर्वमा हुने केही दिनको छुट्टी वा सप्ताहान्तमा लामो र छोटो दुरीका पर्यटन यात्रामा नेपाली जनमानस पनि रमाउन थालेको छ । सरकारले पेट्रोलियम पदार्थ जोगाउन दिएको शनिवार र आइतवार दुई दिनको छुट्टीमा पनि घुमफिरका योजना थपिन थालेका छन् । नागरिकमा यो उत्साह थपिए पनि कतिपय मानिस घुमफिरका लागि कता जाने भन्ने अन्योलमा पनि परेका हुन्छन् । त्यहाँका रमणीय क्षेत्र, भौगोलिक अवस्थिति र हावापानीको जानकारी नहुँदा देशभित्रकै कतिपय पर्यटकीय क्षेत्र ओझेलमा परेका छन् ।
यो आलेखमा काठमाडौंको नजिकै रहेर पनि मानिसको आँखा पर्न नसकेको खोपासी र यहाँका पर्यटकीय क्षेत्रका बारेमा सानो जानकारी गराउने प्रयत्न गरिएको छ । पनौती नगरपालिकाको वडा नम्बर १० अन्तर्गत पर्ने खोपासी काठमाडौँबाट केवल ३५ किलोमिटर कालोपत्रे सडकले जोडिएको सानो बजार हो । काठमाडौँबाट पनौती पुरानो बसस्टप (३२ किलोमिटर) सम्म सिधा सार्वजनिक सवारी साधनबाट यात्रा गर्न सकिन्छ । पनौतीसम्म सम्म यात्रा गरी सकेपछि पनौतीबाट खोपासी ३ किलोमिटर स्थानीय बस नियमित चल्ने व्यवस्था छ ।
खोपासीमा प्रमुख तीन माथ्लो गाउँ (नरसिंह मोठको परिसरसँगै), माझ गाउँ र तल्लो गाउँमा पहाडी समुदायको वाहुल्य छ । समुद्र सतहबाट १ हजार ५ सय १७ मिटरमा रहेको खोपासीे औसत उचाइका मध्यम पहाडहरू सहितको बजार हो । यहाँको हावापानी उपउष्णकटिबन्धीय छ । उष्णकटिबन्धीय भनेको प्राविधिक रुपमा कर्कट रेखादेखि २३.५ डिग्री उत्तर र मकर रेखादेखि २३.५ डिग्री दक्षिणको भाग हो । यसको बीच भाग तिर पर्ने भूभागलाई उपउष्णकटिबन्धीय भनिन्छ । यस्तो क्षेत्रमा केही गर्मी र हावामा शुष्कपन हुन्छ । तर यस्तो ठाउँमा तुलनात्मक रुपमा धेरै वर्षा हुन्छ । अर्थात गर्मी बढेसँगै पानी पर्नु यसको विशेषता हो । त्यसैले गर्मी लामो समयसम्म रहदैन ।
हावापानीका हिसावले न धेरै गर्मी न धेरै चीसो यो ठाउँको विशेषता हो । चैत बैशाखमा तापमान अधिकतम ३०.६ डिग्री सेल्सियस र पुस माघमा ३ डिग्री सेल्सियस र वार्षिक औसत आद्र्रता ७४ प्रतिशत हुन्छ । औसत वार्षिक तापक्रम १६ डिग्री सेल्सियसदेखि २४ डिग्री सेल्सियस हुन्छ । यहाँ औसत वार्षिक वर्षा १ हजार ७ सय ३३ मिलिमिटर हुन्छ । धेरैजसो वर्षा असारदेखि असोजसम्म हुने गर्छ ।
राजा अंशु वर्माको छोरी भृकुटीले तिब्बतमा विवाह गरेको इतिहास हरेक केटाकेटीले पढ्ने कथा जस्तै बनेको छ । उनै राजकुमारी भृकुटीका पिता अंशु वर्माको निवास नरसिंह मोठ खोपासीमै पर्छ भन्ने चाहिं धेरैलाई थाहा छैन । अंशु बर्माको दरवार खोपासीकै पांगे टोलमा पर्दछ । यो एक विशिष्ट नेपाली शहर हो, जहाँ धेरै मेला, पर्व, धार्मिक र सांस्कृतिक कार्यक्रमहरू हुने गर्छन् । कृषिमा आधारित खोपासी पनौती वरपरको सुन्दर ठाउँहरू मध्ये एक हो ।
खोपासी क्षेत्रमा मनाइने मुख्य तीन धार्मिक जात्रा—नारायण जात्रा, भिमसेन जात्रा र गणेश जात्रा—स्थानीय संस्कार, आस्था र परम्पराको महत्वपूर्ण प्रतीक मानिन्छन् । यी जात्राहरूमा गाउँका मानिसहरू उत्साहका साथ सहभागी भई देवताहरूको पूजा, रथयात्रा तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन् । नारायण जात्रामा भगवान नारायणको आराधना गरिन्छ भने भिमसेन जात्रामा व्यापार र समृद्धिका देवता भिमसेनको पूजा गरिन्छ । त्यसैगरी, गणेश जात्रामा विघ्नहर्ता भगवान गणेशको स्मरण गर्दै सुख, शान्ति र सफलता कामना गर्ने गरिन्छ । यी सबै जात्राहरूले समुदायबीच एकता, धार्मिक श्रद्धा र सांस्कृतिक पहिचानलाई बलियो बनाउने काम गरेको छ ।
खोपासी क्षेत्रमा रहेका विभिन्न धार्मिक महत्वका मन्दीरहरूले यहाँको सांस्कृतिक र आध्यात्मिक पहिचानलाई झल्काउँछन् । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाको वडा नम्बर १० मा अवस्थित विष्णुमूर्ति मन्दीर खोपासीको मेलबोट भन्ने ठाउँमा सडकको दायाँपट्टि रहेको छ । यस मन्दीर भवनको तल्लो तलामा राधाकृष्ण मन्दीर छ । माथिल्लो तलाको अत्यन्तै आकर्षक कक्षमा सुनको जलपले ढाकिएको सिंहासनमा मुद्रा आसनमा विराजमान भगवान विष्णुको मूर्ति छ । यो मूर्तिको साथमा रहेका विभिन्न देवताहरूको मूर्तिहरुले गर्दा यो मन्दीर निकै आकर्षक देखिन्छ । स्वामी कमल नयनाचार्यले स्थापना गर्नु भएको यस मन्दीरमा वैशाख महिनामा १० दिनसम्म भगवान विष्णुको जन्मोत्सव मनाइन्छ । यस अवधिमा दैनिक करीब २५० भक्तजनलाई प्रसादको रूपमा भोजन उपलब्ध गराइन्छ । यो मन्दीरमा प्रत्येक महिना भगवान विष्णुलाई दही, दूध, घीउ, मह आदिले स्नान गराइन्छ भने श्रावण महिनामा भगवान विष्णुलाई झुलामा झुलाइन्छ ।
नारायण मन्दीर, भीमसेन मन्दीर,पाथिभरा मन्दीरका अतिरिक्त यहाँको आकर्षणको केन्द्र बनेको अर्को मन्दीर फड्केश्वर महादेव पनि हो । साथै, नेपालमा कतै नभएको एक मात्र द्रौपदा देवीको मन्दीर खोपासीमा नै छ । यी पुराना मन्दीरहरूप्रति भक्तजनहरूको अगाध आस्था रहदै आएको छ । यी मन्दीरहरूमा नियमित पूजा–आराधना, धार्मिक कार्यक्रम तथा पर्वहरू मनाइने गरिन्छ । यसले समुदायमा धार्मिक भावना र आपसी एकता अझ मजबुत बनाउने काम गरेको छ । नेपालको सबैभन्दा पुरानो मध्येको पनौती जलविद्युत आयोजना र पोखरीले मात्रै खोपासीको चर्चा सकिदैन । नेपालमा रेशम खेतीका लागि पनि खोपासी उत्तिकै ख्याती प्राप्त छ ।
हालै निर्माण गरिएको पशुपतिनाथको मन्दीरले पनि स्थानीय बासिन्दा र आगन्तुकहरूको ध्यान आकर्षित गरेको छ । यस वर्षको महाशिवरात्रिको पावन अवसरमा पुनस्र्थापित खोपासीस्थित तीन थुम्की डाँडामा रहेको पशुपतिनाथ मन्दीर पछिल्लो समय धार्मिक पर्यटनका हिसावले अर्को महत्वपूर्ण तीर्थस्थल बनेको छ । वि.सं. २०४५ मा स्थानीय समुदायको आवश्यकता र धार्मिक भावनालाई सम्बोधन गर्न स्व. सोभितमान सिलवालको सक्रियता एवम् स्थानीय जनसहभागितामा २०४५ साल रामनवमीको पावन अवसरमा भगवान पशुपतिनाथको प्राणप्रतिष्ठा गरी विधिवत् पूजा–आरती सञ्चालन गरिएको थियो । \
तर २०७२ सालको भूकम्पले मन्दीर र पाटी जीर्ण बनाएपछि धार्मिक आस्थालाई पुनर्जीवित गर्ने संकल्पका साथ एक वर्षको अवधिमा स्थानीय जनसहभागिताद्वारा यसको पुनः निर्माण सम्पन्न गरिएको हो । यहाँ दैनिक पूजा–अर्चना हुनुका साथै महाशिवरात्रि, तीज,बाला चतुर्दशी, लगायतका पर्वहरू विशेष उत्साह र उल्लासका साथ मनाइनुका साथै यस परिसर भित्र विभिन्न धार्मिक कार्यहरु ( जस्तै बिबाह, ब्रतबन्ध, पूजा ई. ) गर्ने र जेष्ठ नागरिकहरु भै भलाकुसारी गर्ने सुबिधा रही आयको छ । यस्ता धार्मिक गतिविधिहरूले स्थानीय समुदायमा एकता, सद्भाव र सांस्कृतिक निरन्तरता कायम राख्न सहयोग र्पुयाएका छन्।
वास्तुकलाको दृष्टिले पनि यो मन्दीर आकर्षक रहेको छ । शिखर शैलीमा निर्मित यस मन्दीरले स्थानीय कलात्मकता र सांस्कृतिक पहिचान झल्काएको छ । मन्दीर वरपरको शान्त वातावरण, हरियाली र प्राकृतिक सौन्दर्यले यस स्थानलाई अझ रमणीय बनाएको छ ।
समग्रमा, खोपासी क्षेत्र नै केवल एक धार्मिकस्थल मात्र नभई सामाजिक एकता, सांस्कृतिक संरक्षण र सामुदायिक विकासको प्रतीक बनेको प्रतीत हुन्छ । यो परिवेशमा यहाँ पुग्ने जोकोही नागरिक धार्मिक आस्थाले मात्र ओतप्रोत हुदैन, यहाँको प्रकृतिक वातावरणबाट आनन्दित पनि हुन सक्छ ।


प्रतिक्रिया