काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते सम्पन्न निर्वाचनलाई असामान्य र अस्वाभाविक भएको बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व जाने क्रममा रुकुमपश्चिम पुगेका प्रचण्डले मुसिकोटमा पत्रकारसँग कुरा गर्दै निर्वाचन प्रक्रिया र नतिजामाथि गम्भीर प्रश्न उठाएका हुन् ।
उनले नतिजा सहज रूपमा आएको नदेखिएको उल्लेख गर्दै विभिन्न स्थानबाट आएका रिपोर्टहरूमा असामान्यता देखिएको बताए । “कतिपय ठाउँमा उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको भन्ने, कतिपयले जित्ने अपेक्षा नगरे पनि अत्यधिक मत आएको भन्ने, र कतिपय ठाउँमा आफ्नो मत हराएको जस्तो देखिएको रिपोर्ट आएका छन्,” उनले भने ।
यस्ता घटनाले यो निर्वाचन सामान्य नभएको निष्कर्षमा आफूहरू पुगेकाे र यसबारे थप गहिरो अध्ययन तथा अनुसन्धान आवश्यक रहेको बताए । यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुई तिहाइ मतलाई भने आफ्नो पार्टीले स्वीकार गरेको उनले स्पष्ट पारे ।
उनले आफ्नो पार्टीले सरकारका सकारात्मक काममा समर्थन र कमजोरीमा आलोचना गर्दै रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए । साथै अब युवाहरूलाई विशेष प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै वडादेखि केन्द्रसम्मका कमिटीमा ५० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिने जानकारी दिए ।
प्रचण्डले नेपालको समग्र कम्युनिस्ट आन्दोलन पुनर्गठनको आवश्यकता औंल्याउँदै हालको निर्वाचनले कम्युनिस्ट शक्तिलाई परेको धक्का ध्यानमा राख्दै पुनर्संरचना प्रक्रियामा जाने निर्णय भएको बताए ।


प्रतिक्रिया