काठमाडौं । गत १२ वैशाख देखि सुरु भएको काठमाडौंको नदी किनारमा रहेका सुकुमवासी र अव्यवस्थित बस्ती हटाउँने अभियानले हालसम्म १५ हजार ३१६ जना विस्थापित भएका छन् ।
यही वैशाख १२ गतेदेखि संघीय सरकार र स्थानीय तहको समन्वयमा काठमाडौंका विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराइएको थियो । काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरा, कालोपुल, बल्खु, बंशीघाट, शंखमुल, कालीमाटी, बालाजु, स्वयम्भू, गौशाला, धोबीखोला, तेन्जिङचोक, कृष्ण मन्दिर, कपन र साततले क्षेत्रमा डोजर प्रयोग गरी बस्ती खाली गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको तथ्यांकअनुसार १६ वटा बस्तीमा डोजर प्रयोग गरेर बस्ती खाली गरियो । यो तथ्यांक वैशाख १२ गतेदेखि वैशाख २१ गतेसम्मको हो । बस्तीमा डोजर चल्दा २ हजार ५०१ परिवार विस्थापित भएका छन् । २ हजार ५०१ परिवारका १५ हजार ३१६ जना विस्थापित भएका हुन् ।
विस्थापित हुनेमा महिला ६ हजार ८५८ जना, पुरुष ५ हजार २३५ जना, बालक १ हजार ४३७ र बालिका १ हजार ६९६ विस्थापित भएका हुन। जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुसार १७ वटा बस्तीमा ८९० पक्की रकच्ची १ हजार ७९७ गरी २ हजार ६८७ वटा घर टहरा भत्किएका छन् ।
घर टहरा भत्किएपछि केही परिवार आफैँ व्यवस्थापन गरेर सरेका छन् भने केहीलाई सरकारले होल्डिङ सेन्टरमा राखेको छ । होल्डिङ सेन्टरमा राखेर सरकारले वास्तविक सुकुमवासी पहिचानको गरी व्यवस्थापन गर्ने बताएको छ ।


प्रतिक्रिया