कांग्रेस भ्रातृ संगठनको नेतृत्व चयनविरुद्ध सभापति थापाको सचिवालय

कांग्रेस भ्रातृ संगठनको नेतृत्व चयनविरुद्ध सभापति थापाको सचिवालय


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले कुनै पनि भ्रातृ संगठनको नेतृत्व चयन नगरिएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै विभिन्न व्यक्तिलाई बधाईको ओइरो आइरहेका बेला सचिवालयबाट यस्तो प्रतिक्रिया आएको हो ।

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला, महिला संघको अध्यक्षमा मीनाकुमारी खरेल र नेपाल विद्यार्थी संघको अध्यक्षमा करुणा कटुवाललाई चयन गरिएको खबर सामाजिक सञ्जालमा व्यापक बनाइएको छ ।

सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले कुनै पनि भ्रातृ संगठनको नेतृत्व मनोनित नगरिएको जानकारी दिए । ‘कसैलाई पनि मनोनति गरिएको छैन,’ उनले भने, ‘बेकारको हल्ला हो ।’ केन्द्रीय कार्यसम्पादन समितिको २१ वैशाखमा बसेको बैठकले म्याद थप्ने निर्णय नगरेपछि १३ मध्ये पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।

केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन हुने भ्रातृ संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् । कार्यसम्पादन समिति बैठकले सभापति थापालाई अधिवेशन नभएका सबै भ्रातृ संस्थाहरूको महाधिवेशनका लागि आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ ।