काठमाडौँ । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।
‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमयी ढंगबाट किन मुक दर्शक बन्यो ?’ प्रतिनिधिसभाको बैठकमा बोल्दै बादलले भने ।
नेता बादलले प्रतिनिधिसभामा दलको तर्फबाट बोलेका हुन् । सभामा दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । यसअन्तर्गत एमालेको तर्फबाट प्रतिनिधिसभाको रोष्ट्रम प्रयोग गरेका एमाले नेता बादलले सेनाको भूमिकाबारे प्रश्न गरेका हुन ।
उनले सेनाको भूमिकाबारे अर्को प्रश्न पनि गरे, ‘लिपुलेकमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुमवासी बस्तीहरूमा किन परेड खेल्दैछ ?’ सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ ।
रास्वपाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुस्बु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनै समेत माग गरेका छन ।


प्रतिक्रिया