रवि नेतृत्वमा रास्वपाले बनायो महाधिवेशन मूल आयोजक समिति

रवि नेतृत्वमा रास्वपाले बनायो महाधिवेशन मूल आयोजक समिति


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ । आज (बुधबार) बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसको तयारीका लागि सभापतिको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन । उनले भने, ‘सिंगो केन्द्रीय समिति आयोजक समिति बनेको छ । महाधिवेशन तयारीको लागि विभिन्न उपसमितिहरु पनि बनेका छन् ।’ रास्वपाले समिति गठन नभएका वडाको भेला जेठ २ गते बोलाएको छ ।

बैशाख २० गते अघि वडा समिति गठन भइसकेका स्थानको वडा अधिवेशनको मिति जेठ ३ गतेका लागि तोकिएको छ । तदर्थ समिति गठन नभएका पालिकाहरुको भेला जेठ ९ गतेका लागि समय निर्धारण गरिएको छ । बैशाख २५ गते अघि पालिका समिति गठन भइसकेका स्थानको अधिवेशनको समय जेठ १० गतेका लागि तोकिएको छ ।

जेठ ३ गतेसम्म वडा समिति बनेका स्थानको अधिवेशन जेठ १६ गतेका लागि तोकिएको छ । जेठ १० गतेअघि पालिका समिति बनेकाहरुको हकमा पालिका अधिवेशन जेठ १७ को लागि तोकिएको छ ।